किन भयो काठमाडौंमा ट्राफिक जाम?
![किन भयो काठमाडौंमा ट्राफिक जाम?](https://www.himalkhabar.com/uploads/posts/800X600/traffic_jam_(1)_1670576672.JPG)
काठमाडौंका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि ट्राफिक जामले यातायात अस्तव्यस्त बनेको छ। कतिपय ठाउँमा दिउँसो सहज भएको छ भने कतिपय ठाउँमा ट्राफिक जाम यथावत छ।
विशेष गरी काठमाडौं र ललितपुरमा ट्राफिक जामका कारण आवतजावत गर्न कठिनाइ भएको छ। यसको मुख्य कारण त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरीले बताइन्।
पुल्चोकस्थित पुल्चोक इन्जिनीयरिङ क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा विभिन्न जिल्लाबाट झण्डै १० हजार विद्यार्थीको सहभागिता हुँदा उनीहरूको सवारी साधन व्यवस्थापन राम्ररी हुन नसकेकाले ट्राफिक जाम भएको चौधरीले बताइन्।
![](https://www.himalkhabar.com/uploads/editor/transportation/ktm/traffic%20jam%20%282%29.JPG)
योसँगै राष्ट्रपति तथा प्रधानमन्त्रीको भीआईपी सवारीका कारण पनि ललितपुर–काठमाडौंका सडकमा ट्राफिक जाम बढेको हो। राष्ट्रपति विद्यादेवी भण्डारी हायात होटलमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदा र प्रधानमन्त्री शेरबहादुर देउवा दीक्षान्त समारोह सकेर अर्को कार्यक्रममा जाँदा सडक खाली गरिएको थियो।
त्यस्तै, ग्वार्को चोकमा फ्लाइओभर निर्माण हुन लागेका कारण पनि सवारीको चाप बढेको हो। “हामीले केही दिनअघि फ्लाइओभरको निर्माण र ट्राफिकको व्यवस्थापनबारे सूचना जारी गरेका थियौं। तर, त्यसको पालना नहुँदा कोटेश्वर–बल्खु सडकमा पनि जाम हुन थालेको छ,” डीआईजी चौधरीले भनिन्।
![](https://www.himalkhabar.com/uploads/editor/transportation/ktm/traffic%20jam%20(3).JPG)
निर्माणकार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारी साधनलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा सञ्चालन गर्न दिइएको छ भने निजी चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिएको छ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारी साधनलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा र निजी चार पाङ्ग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने व्यवस्था गरिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/transportation/ktm/traffic%20jam%20(4).JPG)