पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, तर आयल निगमले नघटाउने
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ।
निगम हाल २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो। निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम नोक्सानीमा सञ्चालन हुँदै आएको जनाएको छ।
इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही मंसीर १५ गते प्राप्त खरीद मूल्य अनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलमा केही घटेर आएको छ।
“मंसीर १५ गते पाएको खरीद मूल्यसूची बमोजिम एलपी ग्यासमा प्रति सिलिन्डर ४३.९३ ले बढेर आएको छ। एलपी ग्यासमा निगमलाई हाल प्रति सिलिन्डर २७७.०२ घाटा भइरहेको छ,” निगमले भनेको छ, “निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी करीब २७ अर्ब तिर्न बाँकी छ।”
ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ। यद्यपि, पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य यथावत् राख्दा १५ दिनमा करीब ५८ करोड नाफा हुने निगमले जनाएको छ।
“हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छ,” निगमले भनेको छ।