हिमालकर्मी भेटवाललाई अन्तर्दृष्टि पुरस्कार
अन्तर्दृष्टि पुरस्कार समितिले यस वर्षको अन्तर्दृष्टि पुरस्कार हिमालकर्मी अनिता भेटवाल सहित तीन जनालाई प्रदान गर्ने निर्णय गरेको छ।
अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक कमल लामिछाने र संयोजक होमनाथ अर्यालले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी यस वर्षको अन्तर्दृष्टि पुरस्कार घोषणा गरेका हुन्। समितिले अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार भेटवाललाई प्रदान गर्ने भएको हो।
पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोण सहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास एवम् समतामूलक समाजको अङ्ग बनाउन भूमिका खेलेकाले भेटवाललाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएको छ।
त्यस्तै, यस वर्षको अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार ललितपुरको नमूना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मञ्जु सुवेदीलाई प्रदान गरिने भएको छ। यो पुरस्कार शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोण लगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेका आधारमा प्रदान गरिन्छ।
यसै गरी, ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत दुर्गादेवी वाइबालाई प्रदान गरिने भएको छ। यो पुरस्कार दृष्टिविहीन विद्यार्थीले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान लगायतलाई आधार मानी छनोट गरेका आधारमा प्रदान गरिन्छ।
पुरस्कार छनोट समितिमा होमनाथ अर्याल, कमल लामिछाने, सुनिता थापा र सरिता लामिछाने सदस्य रहेका थिए।