चर्चित उम्मेदवार जो पराजित भए
प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको एक तिहाइ नतीजा नआउँदै थुप्रै चर्चित उम्मेदवार पराजित भइसकेका छन्।
काठमाडौं-५ बाट उम्मेदवारी दिएका नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए। पोखरेलले १० हजार १७२ मत पाए भने पौडेल १५ हजार २३७ मत सहित निर्वाचित भए।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भए। राउतले ३५ हजार ४२ मत पाए भने यादवले जम्मा १६ हजार ९७९ मत पाए।
गुल्मी-२ मा नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित भइन्। झाँक्रीले २६ हजार ४४१ र विष्टले २८ हजार ४७६ मत ल्याए।
काठमाडौं-१ मा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सत्ता गठबन्धनका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भए। सिंहले सात हजार १४३ र मिश्रले सात हजार १८ मत पाए। पूर्व सञ्चारकर्मी समेत रहेका मिश्र २०७४ मा पनि यही क्षेत्रमा सिंहसँगै हारेका थिए।
नेकपा (माओवादी केन्द्र)की नेतृ तथा पूर्व सभामुख ओनसरी घर्ती मगर काठमाडौं-२ मा पराजित भइन्। नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा चुनाव लडेकी मगर चौथो स्थानमा रहिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएको यो क्षेत्रमा गठबन्धनकी उम्मेदवारलाई एमालेका मणिराम फुयाँल र राप्रपाकी कुन्ती पोखरेलले पनि पछि पारे।
काठमाडौं-४ मा एमाले उम्मेदवार राजन भट्टराई कांग्रेस महामन्त्री गगनकुमार थापासँग पराजित भए। थापाले २१ हजार ३०२ र भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे।
काठमाडौं-७ मा कांग्रेसका भीमसेनदास प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भए। खनालले १४ हजार ४०२, एमालेका सर्वेन्द्र खनालले आठ हजार ९११ र प्रधानले आठ हजार ८०५ मत पाए।
गठबन्धनको समर्थनमा माओवादीको चुनाव चिह्न लिएर काठमाडौं-७ मा उम्मेदवारी दिएकी नेपाल समाजवादी पार्टीकी नेत्री मानुषी यमी भट्टराई तेस्रो स्थानमा आइन्। उनले ६ हजार ६३, एमालेका श्याम घिमिरेले ६ हजार ८०० र रास्वपाका गणेश पराजुलीले आठ हजार ७४३ मत ल्याए।
काठमाडौं-९ मा माओवादीकी कल्पना धमला र साझा पार्टी नेपालका मिलन पाण्डे पराजित भए। पाण्डेले दुई हजार ३२७, राप्रपाका देवेन्द्र प्रधानले चार हजार ७८५, माओवादीकी धमलाले ६ हजार ४०२, रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ र एमालेका कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाए।
काठमाडौं-१० मा माओवादी नेत्री अञ्जना विशंखेले पाँच हजार २६२ मत प्राप्त गरिन्। यो क्षेत्रमा कांग्रेसका राजेन्द्र केसीले १४ हजार ४५८, एमालेका हिमेश केसीले ११ हजार ७८६ र रास्वपाका प्रदीप विष्टले आठ हजार ७३६ मत पाए।
पर्सा-१ बाट उम्मेदवारी दिएका लोसपा नेता लक्ष्मणलाल कर्ण चौथो स्थानमा आए। कर्णले एक हजार ११६ मत पाए। यो क्षेत्रमा राप्रपाका किरण डंगोलले दुई हजार ६५९, कांग्रेसका बागी अजय द्विवेदीले २० हजार ९१७ र जसपाका प्रदीप यादवले २२ हजार ५३७ मत पाए।
जसपा नेता मोहम्मद इश्तियाक राई बाँके-२ मा राप्रपा नेता धवलशमशेर राणासँग पराजित भए। राईले २३ हजार ५२० र राणाले २९ हजार ५७७ मत पाए। यो क्षेत्रमा कांग्रेसका सुदीपनरसिंह राणाले चार हजार ४०३ मत ल्याए।
कैलाली-३ मा एमालेका गौरीशंकर चौधरी नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीसँग पराजित भए। गंगारामले २३ हजार १२० र गौरीशंकरले नौ हजार ८७४ मत पाए। यो क्षेत्रमा माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ४४९ मत पाए।