अर्थतन्त्रको बाह्य क्षेत्रमा सामान्य सुधारको सङ्केत, मूल्यवृद्धि दर भने उच्च

देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सामान्य सुधारको सङ्केत देखिएको छ भने उपभोक्ता मूल्यवृद्धि आकाशिएको छ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, असोजमा विदेशी मुद्राको सञ्चितिमा १३ करोड डलरको सुधार आएको छ। असोजमा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ४८ करोड अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो महीनाका तुलनामा केही बढेको हो। भदौमा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ३५ करोड डलर मात्रै थियो।
गत वर्षदेखि नेपालले विदेशी मुद्राको सञ्चितिमा गहिरो चाप खेपिरहेको छ। विदेशी मुद्राको सञ्चिति तीव्र रूपमा घटेपछि सरकारले आयातमा बाहिरिने रकम रोक्न विभिन्न वस्तुको आयातलाई निरुत्साहन गर्ने नीति लिएको छ। सवारी साधन सहितका कतिपय वस्तुको आयात अहिले पनि रोकिएको छ।
पछिल्लो समय विदेशबाट हुने आयात घटेका कारण विदेशिने रकम पनि कम भएको हो। जसको परिणाम विदेशी मुद्राको सञ्चितिमा सकारात्मक प्रभाव परेको छ।
असोजसम्म नेपालले चार खर्ब एक अर्बको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा १६.२ प्रतिशतले कम हो। आयातसँगै निर्यात पनि घटेको छ। असोजसम्म नेपालले ४१ अर्ब ८२ करोडको वस्तु निर्यात गरेको छ, जुन गत वर्षको यही अवधिका तुलनामा ३५.७ प्रतिशत घटी हो। विदेशबाट आयात गरी भारत निर्यात हुँदै आएको सोयाबिन र पाम तेलको व्यापार घटेका कारण आयात र निर्यात दुवै खस्किएको हो।
गत वर्षको तुलनामा धानको आयात ४७.४ प्रतिशत, तरकारी आयात ११.५ प्रतिशत तथा सवारी साधन र पार्टपुर्जा आयात ५३ प्रतिशतले घटेको छ।
असोजसम्म नेपालमा दुई खर्ब ८१ अर्ब रकम रेमिटेन्स भित्रिएको छ। यो गत वर्षको यही अवधिका तुलनामा १६.८ प्रतिशत बढी हो। अमेरिकी डलरमा पनि रेमिटेन्सको आप्रवाह ७.९ प्रतिशतले बढेको छ। रेमिटेन्सको आप्रवाहको वृद्धिले अर्थतन्त्रको बाह्य क्षेत्रको सन्तुलन कायम गर्न तथा देशभित्रको तरलता कायम राख्न सघाएको छ।
पहिलो त्रैमासमा देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तरशोधनान्तर स्थिति १२ अर्ब ४३ करोड बचतमा पुगेको छ। यो भदौमा २३ अर्ब ६८ करोड घाटामा थियो। गत वर्षको असोजमा पनि शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड घाटामा थियो। शोधनान्तर स्थिति कैयौं महीनापछि बचतको अवस्थामा पुगेको हो। यद्यपि, यो स्थायी हुनेमा भने आशङ्का छ। असोजमा देशको चालू खाता भने ३४ अर्ब २८ करोड घाटामा छ।
देशको बाह्य क्षेत्रमा सुधारको सङ्केत देखापरे पनि देशभित्रको मूल्यवृद्धि दर भने उच्च नै रहेको तथ्याङ्कले देखाएको छ। असोजमा उपभोक्ता मूल्यवृद्धि दर ८.५ प्रतिशत छ। यो गत वर्षको यही अवधिमा ४.२४ प्रतिशत मात्रै थियो। पछिल्ला महीनामा उपभोक्ता मूल्यवृद्धि उच्च रहँदै आएको छ।
सबैभन्दा धेरै होटल रेस्टुरेन्टको सेवाको मूल्यवृद्धि दर झण्डै १६ प्रतिशत छ। त्यसै गरी फलफूलको मूल्य १२ प्रतिशत, दूध र अन्डाको मूल्य ९.५ प्रतिशतले बढेको छ। यातायातको मूल्य २१ प्रतिशतले बढेको छ।