ग्लोबल आईएमई ब्यांक र ब्यांक अफ काठमाण्डू गाभिंदै
ग्लोबल आईएमई ब्यांक र ब्यांक अफ काठमाण्डू एक आपसमा गाभिने निश्चित भएको छ। यी दुई वाणिज्य ब्यांकको मर्जर सम्बन्धी अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
समझदारीपत्रमा ग्लोबल आईएमई ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा ब्यांक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यसअघि ग्लोबल आईएमई ब्यांक र ब्यांक अफ काठमाण्डूबीच सम्पत्ति र दायित्वको मूल्यांकनपछि मर्जरका लागि शेयर स्वाप अनुपात १ बराबर १ लाई दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेको छ। मर्जरपछि ब्यांकको कूल पुँजी रु.५७ अर्ब, चुक्ता पूँजी रु.३५.७७ अर्ब पुग्नेछ। त्यसैगरी, ब्यांकको कुल निक्षेप रु.चार खर्ब र कुल कर्जा रु.३७९ अर्ब पुग्नेछ। मर्जरपछि बन्ने नयाँ ब्यांक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो ब्यांक हुनेछ।
नयाँ ब्यांकको नाम ग्लोबल आईएमई बिओके लिमिटेड हुनेछ। सञ्चालक समितिमा ग्लोबल आईएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहने छन्। ब्यांकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य कायम रहनेछन्।
ग्लोबल आईएमई बिओके लिमिटेडमा यसअघि गाभिएकासहित पाँच वटा वाणिज्य ब्यांक, १० वटा विकास ब्यांक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्। दुई ब्यांकको मर्जरपछि शाखा कार्यालयको संख्या ३८५, एटीएम ३६७‚ शाखारहित ब्यांकिङ २७५ र विस्तारित शाखा कार्यालय ६१ पुग्नेछ। विदेशमा पनि यो ब्यांकका तीन सम्पर्क कार्यालय रहनेछन्।
मर्जरपश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि भएर ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न एवं लगानीकर्तालाई उच्च प्रतिफल दिन सक्षम हुने ब्यांकले विश्वास जनाएको छ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै ब्यांकका सञ्चालक समितिका अध्यक्षहरूले वित्तीय क्षेत्रमा नयाँ अवसर ल्याई ग्राहक, शेयरधनी, ब्यांकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाए। ग्लोबल आईएमई ब्यांकका अध्यक्ष ढकालले मर्जरपछि बन्ने नयाँ ब्यांक ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट ब्यांक बनाउने प्रतिवद्धता जनाए।