डेंगी संक्रमितको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु
डेंगी संक्रमितको संख्या ५० हजार नाघेको छ भने अहिलेसम्म ५५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म देशभर ५० हजार २६३ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ।
नेपालमा साउन दोस्रो सातादेखि डेंगीको संक्रमण देखिएको थियो। अहिलेसम्म देशका ७७ वटै जिल्लामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डेंगीको संक्रमण कम हुँदै गएको भए पनि यसबाट मृत्यु हुने क्रम भने रोकिएको छैन। पछिल्लो २४ घण्टामा डेंगीबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै डेंगीबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।
चिसो शुरू भएसँगै डेंगीको संक्रमण कम हुँदै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तथापि, स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ।