आर्मी ६१ स्वर्ण सहित शीर्ष स्थानमा
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकूदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ।
कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ। आर्मीले ३९ रजत र २८ कांस्य सहित कुल एक सय २८ पदक प्राप्त गरेको छ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन्। एपीएफ क्लबले २३ स्वर्ण, १७ रजत र १५ कांस्यका साथ कुल ६५ पदक प्राप्त गरेको छ। पुलिस क्लबले १५ स्वर्ण, २५ रजत र ३३ कांस्य सहित कुल ७४ पदक प्राप्त गरेको छ।
यसै गरी बागमती, गण्डकी र एनआरएनए क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन्। बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कांस्य सहित कुल ५९ पदक प्राप्त गरेको छ।
गण्डकी प्रदेशले १० स्वर्ण, आठ रजत र २० कांस्य सहित कुल ३८ पदक प्राप्त गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ६ स्वर्ण, ६ रजत र चार कांस्य सहित कुल १६ पदक हासिल गरेको छ।
यस्तै, प्रदेश १ सातौं, मधेश प्रदेश आठौं, सुदूरपश्चिम प्रदेश नवौं, लुम्बिनी प्रदेश १०औं तथा कर्णाली प्रदेश पदक तालिकाको ११औं स्थानमा छन्। प्रदेश १ ले तीन स्वर्ण, आठ रजत र २१ कांस्य सहित कुल ३२ पदक पाएको छ।
मधेशले दुई स्वर्ण, तीन रजत र सात कांस्य सहित कुल १२ पदक, सुदूरपश्चिमले दुई स्वर्ण, एक रजत र ११ कांस्य सहित कुल १४, लुम्बिनीले एक स्वर्ण, नौ रजत र १२ कांस्य सहित कुल २२ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कांस्य सहित कुल चार पदक प्राप्त गरेका छन्।
हालसम्म १३९ स्वर्ण, १३९ रजत र १८६ कांस्य सहित कुल ४६४ पदकको छिनोफानो भएको छ। ६ हजार १५७ खेलाडी सहभागी नवौं राष्ट्रिय खेलकूद गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेको छ। कुल ३९३ स्वर्ण, ३९३ रजत र ६०० कांस्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगितामा दुई प्रदर्शनी सहित ३८ खेल समावेश गरिएका छन्। तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडीबीच खेल भइरहेको छ। पोखरामा यसअघि २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गरिएको थियो।