कीर्तिमानी जयरानी

नवौं राष्ट्रिय खेलकूद अन्तर्गत एथलेटिक्सको महिला सय मिटर हडल्समा त्रिभुवन आर्मीकी जयरानी थारूले कीर्तिमान कायम गर्दै दोस्रो स्वर्ण जितेकी छन्।
पोखरा रङ्गशालामा सोमबार सय मिटर हडल्समा कीर्तिमान कायम गर्दै स्वर्ण जितेकी हुन्। उनले १५.१६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाइन्। यसअघि उनकै नाममा १५.२० सेकेन्डको कीर्तिमान थियो।
उनले आइतबार चार सय मिटर हडल्समा स्वर्ण पदक जितेकी थिइन्। नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेन्डमा पूरा गरेर स्वर्ण पदक जितेकी थिइन्।
यसमा पनि उनले कीर्तिमान बनाएकी थिइन्। जयरानी गएको असारमा काठमाडौंमा सम्पन्न ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७.०२ सेकेन्डमा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएकी थिइन्।
जयरानीले नवौं राष्ट्रिय खेलकूद प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअघि कीर्तिमान सुधारको लक्ष्य राखेको बताइन्। आफ्नो विधामा खेल प्रतिस्पर्धा कम हुने भएकाले समेत उनले सुधार गर्ने लक्ष्य राखेको बताइन्। “कीर्तिमान सुधार गर्दा धेरै नै खुशी छु। आफूले सोचेभन्दा राम्रो खेल भयो। टार्गेट नै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ,” उनले भनिन्।
राष्ट्रिय खेलकूदमा पहिलो पटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहकी आमा सुगही थारूलाई फोन गरेर आफ्नो सफलता सुनाइन्। आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताइन्। “बुबा घरमा हुनुहुँदो रहेनछ, आमालाई फोनमा स्वर्ण जितें भन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौ भनेर हौसला दिनुभयो,” जयरानीले भनिन्।
राष्ट्रिय खेलकूदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ। उनले भनिन्, “स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ। अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ।”
जयरानीले २०७२ सालदेखि खेल्न थालेकी हुन्। त्यसअघि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड लगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन्।
सातौं राष्ट्रिय खेलकूदमा पहिलो पटक सहभागी उनले आठौंमा तत्कालीन प्रदेश ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितेकी थिइन्।
आठौंमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्वितीय भएकी जयरानीले नवौंमा आर्मीबाट खेल्दै स्वर्ण जितिन्। उनी २०७६ साउनमा सेनामा भर्ना भएकी हुन्।
गाउँले दाइ जीवन चौधरी जो आफू पनि खेल्थे, उनले नै जयरानीलाई सेनामा प्रवेश गराउन सहयोग गरेको जयरानीको भनाइ छ। आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान डिन थारूको धेरै साथ र सहयोग मिलेको जयरानीले बताइन्।
शुरूमा उनलाई खेलमा लाग्न सहयोग गर्ने कोही नभए पनि पछि विद्यालयमा राम्रो गरेपछि निःशुल्क बस्ने र खेल्ने वातावरण मिल्यो। जयरानीले गुरुआमा मान्ने सुमित्रा चौधरी जो बर्दियाकै हुन् र अहिले एथलेटिक्स प्रशिक्षक समेत छिन्। उनले विद्यालयमा होस्टलमा बस्नेदेखि खेलकूदका प्रतियोगितामा सहभागी हुनका लागि सहयोग गरेको जयरानीले बताइन्।
उनले भनिन्, “मलाई खेलमा पाइला टेकाउने सुमित्रा चौधरी गुरुआमा हुनुहुन्छ। उहाँको साथ, सहयोग मलाई जहिले पनि मिलिरहेको छ।” (रासस)