आज महाअष्टमी‚ दुर्गा भवानीको पूजा गरिंदै
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाउँदै छन्।
बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख छ।
आजको दिन शास्त्रसम्मत रूपमा दशैंघर, कोत लगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्राध्यापक रामचन्द्र गौतम बताउँछन्।
“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षता लगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशु बलि सहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु बलि पनि शास्त्रीय हो,” उनी भन्छन्।
ब्राह्मणका लागि भने पशु बलि वर्जित गरिएको छ। आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्त्व रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ। दुर्गा सप्तशती चण्डीको आठौं अध्यायमा पनि यस सम्बन्धी चर्चा भएकाले पशु बलिलाई अशास्त्रीय भन्न नमिल्ने गौतम बताउँछन्।
“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशु बलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ,” उनी भन्छन्। यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ। यसै कारण आजको दिन विधिपूर्वक पशु बलि दिइने गरिएको हो।
आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधना सहित मनाउने गरिन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ। ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्नुनपर्ने विधान छ।
आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखी लगायत मन्दिरहरूमा पनि बलि सहित पूजाआजा गर्नेहरूको बिहानदेखि घुइँचो लाग्ने गर्छ।
यसै गरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा लगायतका शक्तिपीठहरूमा पनि बलि सहित पूजाआराधना गर्ने भक्तजनहरूको घुइँचो लाग्दछ।
आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलि सहित पूजाआजा गर्ने गरिन्छ। यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा पूजा गर्ने गरिएको हो।
देवीका शस्त्रअस्त्र सहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ। पशु बलि नचढाउनेहरूले भने आज पूजा कोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिन्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन्।
महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि सहित कालरात्रि पूजा गरिन्छ। कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलि सहित पूजा रोकिएको थियो। -रासस