लाल मोहम्मद हत्या आरोपमा पक्राउ परेका सहयोगी मात्र
लाल मोहम्मद हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरू सहयोगी मात्र भएको प्रहरी स्रोतको दाबी छ। हतियार उपलब्ध गराउने र मोहम्मदको आवतजावत निगरानी गर्न खटिएकालाई पक्राउ गरेको प्रहरी स्रोतले दाबी गरेको छ। यद्यपि, यसबारे औपचारिक रूपमा प्रहरीले केही बताएको छैन।
पक्राउ परेकामध्ये एक जना महिला छिन्। महिलाले मोहम्मदको आवतजावत निगरानीको जिम्मा पाएकी थिइन्।
विगतमा जाली भारतीय नोट कारोबारमा संलग्न मोहम्मदलाई भारतीय पक्षले राज्य संरक्षित अपराधीलाई प्रयोग गरेर हत्या गरेको आशंका छ। घटनाको कार्य प्रणाली (मोडस अपरेन्डी) यसअघि शृङ्खलाबद्ध रूपमा भएका भारतीय नक्कली मुद्राको कारोबारमा संलग्न भनिएका व्यक्तिको हत्यासँग मिल्दोजुल्दो भएको प्रहरी अधिकारी बताउँछन्।
मोहम्मदलाई भारतले बारम्बार आफूलाई बुझाउन वा कानूनी कारबाही गर्न आग्रह गर्दै आएको थियो। विशेष ब्यूरोले समेत यसबारे प्रहरी प्रधान कार्यालय मार्फत गृह मन्त्रालयलाई जानकारी गराएको थियो। तर‚ गृहले त्यसलाई बेवास्ता गरेको थियो।
असोज ३ गते सम्साँझै काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको थियो। हत्या भएको दुई हप्ता पुग्न लाग्दा समेत प्रहरीले मूल अपराधीको पहिचान गर्न सकेको छैन। प्रहरी प्रधान कार्यालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको संयोजकत्वमा विशेष अनुसन्धान समिति बनाएको थियो।