विवेकशील साझाबाट राजीनामा दिंदै रवीन्द्र मिश्रले भने- माओवादी राजनीतिबाट हराउँछ

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन्।
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटालाई सम्बोधन गर्दै उनले असोज १० राजीनामा दिएका हुन्।
मडरेट कन्जर्भेटिभ राष्ट्रवादी शक्ति निर्माणका लागि आफूले पार्टीबाट राजीनामा दिएको मिश्रले उल्लेख गरेका छन्। पार्टी छोड्ने निर्णय जीवनकै एउटा सबैभन्दा कठिनतम निर्णय भएको उनको भनाइ छ।
"लामो गृहकार्यपछि आफैंले नेतृत्व गरेको साझा र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिंड्नु निश्चय पनि सहज विषय होइन," पूर्व सञ्चारकर्मी समेत रहेका मिश्रले भनेका छन्।
नेपाली राजनीतिमा अब दुई ध्रुवमा, तीन वटा प्रमुख पार्टी रहने उनको विश्लेषण छ। बायाँ ध्रुवमा नेपाली कांग्रेस र नेकपा एमाले रहने तथा यी दुईको बीचमा केही वर्ष माओवादी केन्द्र पेन्डुलम झैं कहिले यता, कहिले उता गरिरहने तर समयक्रममा त्यो कि साँघुरिंदै जानेछ कि राजनीतिबाटै हराउने मिश्रको निष्कर्ष छ। कांग्रेस र एमालेको विपरीत दायाँ ध्रुव मडरेट कन्जर्भेटिभ शक्ति रहने उनको दाबी छ।
राष्टिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने चर्चा चलिरहेका वेला मिश्रले राजीनामा दिएका हुन्।