राष्ट्रपतिको कदमको विरोध गर्दै उपराष्ट्रपतिले भने- संविधानको दायराभन्दा बाहिर जाने छुट छैन
नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति असन्तुष्टि जनाउँदै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालना गर्न आग्रह गरेका छन्।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि विरोध भइरहेको छ। सत्तारुढ चार दल विरोधमा देखिएका छन् भने प्रमुख प्रतिपक्ष नेकपा (एमाले) लगायतको समर्थन देखिएको छ।
यस्तैमा उपराष्ट्रपति पुन प्रेस वक्तव्य जारी गरी राष्ट्रपतिको कदमको विरोध गरेका छन्। “संविधानको पालाना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधान बमोजिम सबैबाट आ-आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण गर्नुपर्दछ,” उनले भनेका छन्, “पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो।”
उनले संविधानभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरेका छन्। उपराष्ट्रपति पुनले भनेका छन्, “संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन।”