नेपालको आर्थिक वृद्धि मध्यम रहने एडीबीको आकलन
एशियाली विकास ब्यांक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालले मध्यमस्तरको आर्थिक विस्तार गर्ने अनुमान गरेको छ।
एशियन डेभलपमेन्ट आउटलुक २०२२ को अपडेटमार्फत एडीबीले चालु आर्थिक वर्ष २०७९/८० मा ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ। सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको एडीबीको अनुमान छ। तर, गत वर्षको वास्तविक वृद्धिदरको आकडा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छैन।
चालु आर्थिक वर्षमा केन्द्रीय ब्यांकले ल्याएको संकुचनकारी मौद्रिक नीतिका कारण आयात खुम्चने तथा मूल्यवृद्धि र विदेशी मुद्राको सञ्चितीमा कमीका कारण आर्थिक वृद्धिदरको लक्ष्य प्रभावित हुने एडीबीको अनुमान छ। प्रतिवेदनले सामान्य मनसुनका कारण कृषि उत्पादन वृद्धिको सम्भावना भए पनि रासायनिक मलको अभावका कारण धान उत्पादन घट्नसक्ने उल्लेख गरेको छ।
यो आर्थिक वर्षमा मूल्यवृद्धि दर औसतमा ६.१ प्रतिशत रहने एडीबीको अनुमान छ। गत वर्ष मूल्यवृद्धि दर ६.३ प्रतिशत थियो।
त्यसैगरी, आयातमा कटौति तथा रेमिटेन्सको वृद्धिका कारण चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ८.१ प्रतिशतमा ओर्लिनसक्ने एडीबीको अनुमान छ।