नेपाल टी-२० लिगको मेन्टरमा ब्रेट ली
![नेपाल टी-२० लिगको मेन्टरमा ब्रेट ली](https://www.himalkhabar.com/uploads/posts/800X600/brett_lee_1_1662722560.jpg)
नेपाल टी-२० लिगको मेन्टरमा प्रख्यात पूर्व क्रिकेट खेलाडी ब्रेट ली चयन भएका छन्।
काठमाडौंमा शुक्रबार एक समारोहबीच लिग आयोजक सेभेन थ्री स्पोर्टस् र नेपाल क्रिकेट संघ (क्यान)ले ब्रेट लीलाई मेन्टर घोषणा गरेको हो। उनी टी-२० लिगको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन्।
मेन्टर घोषणापछि बोल्दै पूर्व क्रिकेटर लीले नेपाल टी-२० लिगको हिस्सा हुन पाउँदा उत्साहित भएको बताए। टी-२० लिगले नेपालमा क्रिकेटप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने उनको भनाइ छ।
४५ वर्षीय ब्रेट ली अस्ट्रेलियाका पूर्व क्रिकेट खेलाडी हुन्। उनी सबैभन्दा तीव्र गतिका बलरमध्ये पर्छन्। उनले सन् २००५ मा न्यूजिल्यान्ड विरुद्धको खेलमा १६१.१ किलोमिटर प्रति घण्टाको गतिमा बलिङ गरेका थिए।
उनले अस्ट्रेलियाका लागि ७६ टेस्टमा ३१० विकेट लिएका छन्। त्यस्तै, २२१ एकदिवसीय खेलमा ३८० विकेट र २५ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा २८ विकेट लिएका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/bret%20lee.jpg)
यससँगै टी-२० लिगको आधिकारिक मोबाइल एप पनि सार्वजनिक गरिएको छ। एससिक्सरले नै टी-२० लिगको संसारभर प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले टी-२० को मेन्टरका रूपमा ब्रेट लीको स्वागत गर्दै नेपालमा क्रिकेट विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।
नेपाल टी-२० लिग असोज ८ गतदेखि कात्तिक ५ गतेसम्म चल्नेछ। यसमा ६ वटा टीमले प्रतिस्पर्धा गर्नेछन्।