क्षमा दिने विषयमा मतभेद हुँदा अपूर्व हिरासतमै
जाहेरी दिनेहरूबीच नै विवाद भएपछि कमेडियन अपूर्व क्षितिज सिंहको रिहाइ अनिश्चित बनेको छ भने प्रहरीले थप हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ।
हास्यव्यङ्ग्यका नाममा नेवार समुदायमाथि अपमान गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सिंहलाई माफी दिने कि नदिने भन्नेमा विवाद देखिएको छ। जाहेरीकर्ताबीच नै सिंहलाई छुटाउने र नछुटाउनेमा मतभिन्नता भएसँगै प्रहरीले अदालतबाट थप पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको हो।
सिंह विरुद्ध १०४ जनाको हस्ताक्षर सहित भदौ १२ गते काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको थियो। सामाजिक रीतिस्थितिमा खलल पुर्याएको आरोपमा उनी विरुद्ध जाहेरी दर्ता भएको थियो।
उनले यूट्युब च्यानलबाट विवादित भिडिओ हटाउँदै माफी मागेका थिए। तैपनि सिंह थुनामुक्त भने भएका छैनन्।
अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाएको भन्दै कलाकार सिंह पक्राउको विरोध हुन थालेपछि भदौ १९ गते जाहेरी दिने र सिंहको परिवारबीच प्रहरी कार्यालयमा छलफल भएको थियो। जसमा सिंहलाई माफी दिने सहमति बनेको थियो।
सोही अनुसार, माफी दिएको अर्को निवेदन प्रहरीमा दर्ता गर्ने प्रक्रिया थालिएको थियो। तर, जाहेरीकर्तामध्ये केहीले निवेदनमा हस्ताक्षर नगरेपछि उक्त प्रक्रिया नै रोकिएको छ।
“केही व्यक्तिले हाम्रो समुदायमाथि यत्रो ठूलो प्रहार गरेकाले कानूनी कारबाहीबाटै टुङ्गिनुपर्छ भनेर माफी दिएको निवेदनमा सही गर्न आउनुभएन,” जाहेरीकर्तामध्येका एक यादवलाल कायस्थले भने, “त्यसपछि गोलमाल भयो। हामीले अपूर्वको परिवारसँग हिजो बेलुकीसम्म पनि छलफल गर्यौं।”
प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले भने कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले यो विषय टुङ्गिन समय लागेको बताए।