भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान
भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान प्रदान गरिएको छ।
सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ को दर्ज्यानी चिह्न प्रदान गरेकी छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्।
नेपाल र भारतका सेना प्रमुखलाई एक-अर्काको देशमा ‘मानार्थ महारथी’ को सम्मान प्रदान गर्ने परम्परा रहेको छ।
भारतीय सेनाध्यक्ष पाण्डे आइतबार नेपाल भ्रमणमा आएका हुन्। पाँचदिने भ्रमणका क्रममा प्रधानमन्त्री लगायत उच्चपदस्थ अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ।