भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण
![भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण](https://www.himalkhabar.com/uploads/posts/800X600/army_1662367637.JPG)
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँचदिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गरेका छन्।
सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा पाण्डेले चार घोडा सहित २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका हुन्। यसअघि भएको नेपाल–भारत द्विपक्षीय परामर्श समूहको निर्णय अनुसार सहयोग हस्तान्तरण गरिएको हो।
सहयोगस्वरूप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए।
यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा आजै प्रधानसेनापति शर्मासँग पाण्डेले भेटवार्ता गरेका थिए। पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएका सेनाध्यक्ष पाण्डेको सम्मानमा आज बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो।