एमाले देश निर्माणको अभियानमा छ: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले देश निर्माणको अभियानमा लागेको बताएका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश १ कमिटीद्वारा आज मोरङमा आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको जिकिर गरे।
उनले सङ्घीयतालाई व्यवहारमा लागू गर्ने, मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा एमालेको रहेको बताए। ओलीले मुलुकको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्तालाई निर्देशन दिए।
उनले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थीलाई अपील गरे।
आगामी निर्वाचनमा पहिलोपटक मतदान गर्ने विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह पनि गरे। आगामी मंसीर ४ गते हुने निर्वाचनबाट मुलुकको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो। (रासस)