नेता गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिने भएको छ।
नेता गिरिको शनिबार राति ९:३० बजे उपचारका क्रममा निधन भएको छ। उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म गिरिको पार्थिव शरीर केन्द्रीय कार्यालयमा राखिने कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले जनाएका छन्।
कांग्रेस संसदीय दलको कार्यालयले शनिबार राति शोक विज्ञप्ति जारी गरी आइतबार नै नेता गिरिको अन्त्यष्टि गरिने जनाएको छ। दिउँसो २ बजेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने भएको छ।