कांग्रेस नेता प्रदीप गिरिको निधन
नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको ७४ वर्षको उमेरमा निधन भएको छ।
क्यान्सरबाट पीडित नेता गिरिको उपचारका क्रममा शनिबार राति ९:३० बजे निधन भएको कांग्रेस नेता दीपकुमार उपाध्यायले बताए। उनको एक महीनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो।
क्यान्सरको समस्या देखिएपछि उनको भारतमा उपचार भएको थियो। उपचार गरेर फर्के लगत्तै स्वास्थ्यमा समस्या आएको थियो।
त्यसपछि उनी एक महीनाअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई निमोनिया देखिएको थियो। निमोनियासँगै क्यान्सरबाट उत्पन्न समस्याले च्यापेपछि उनका सबै अङ्गले काम गर्न छाडेको परिवारजनले बताएका थिए।
पछिल्लो केही सातादेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। केही दिनदेखि मान्छे चिन्न र बोल्न नसक्ने अवस्थामा पुगेका थिए।
सिरहामा जन्मिएका गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए।
उनका पिता नेत्रलाल गिरि कांग्रेसका नेता थिए। पिताको प्रेरणाबाट राजनीतिमा लागेका उनी २०१७ सालमा कांग्रेसमा आबद्ध भए।
नेता गिरिले २०२५ देखि २०४२ सालसम्म पटक पटक गरी चार वर्ष जेल जीवन बिताए। कांग्रेस केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य रहेका गिरि अन्य दलका नेता र कार्यकर्तामाझ पनि लोकप्रिय छन्।
उनले एक दर्जनभन्दा बढी पुस्तक लेखेका छन्। महात्मा गान्धीका अनुयायी गिरि नेपालमा मार्क्सवादको राम्रो व्याख्या गर्न सक्ने व्यक्तिमा पर्छन्।