‘विधेयक फिर्ता लिने राष्ट्रपतिको निर्णय ठिक छ‚ राष्ट्रपतिको भूमिका चाहिने भनेकै यही वेला हो’

पूर्व कानूनमन्त्री नीलाम्बर आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानभित्रै रहेर नागरिकता विधेयक फिर्ता गरेको बताएका छन्।
उनले संवैधानिक मर्यादा र औचित्यभित्र रहेर राष्ट्रपति भण्डारीले विधेयक सन्देशसहित फिर्ता पठाएको बताए। “विधेयक फिर्ता लिने राष्ट्रपतिको निर्णय ठिक छ‚” हिमालखबरसँग आचार्यले भने‚ “संसदीय प्रणालीको नियन्त्रण र सन्तुलन पद्धतिको यही अपेक्षा हो। राष्ट्रपतिको भूमिका चाहिने भनेकै यही वेला हो।”
आचार्यले संसदमा पर्याप्त विचार नपुग्दा विधेयक फिर्ता भएको टिप्पणी गरेका छन्। “नागरिकता जस्तो संवेदनशील र गम्भीर विषयलाई संसदले हलुका किसिमले लिन हुँदैनथ्यो‚” उनले भने‚ “संसदले थप गम्भीर भएर काम गर्नुपर्छ।”
उनले नागरिकता लिन नेपाली नागरिक कोही बञ्चित हुनु नहुने र विदेशीले पाउनु नहुने बताए। विदेशी नागरिकसँग विवाह गर्ने नेपाली चेलीहरूको अधिकार पनि खोसिनु नहुने आचार्यको भनाइ छ।