ओलीको कटाक्ष- कांग्रेसलाई के भएको, आफ्नो खुट्टामा अडिनै नसक्ने भइसक्यो
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आफ्नो खुट्टामा अडिनै नसक्ने कमजोर भएको जिकिर गरेका छन्।
काठमाडौंमा शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको अधिवेशनमा सम्बोधन गर्दै ओलीले मजबुत हुनुपर्ने कांग्रेस कमजोर हुँदै गएको बताए। “मान्छे त ठीकै छ, ७३, ७५, ८० वर्षमा अलिकति बुढ्यौली लाग्छ। एउटा पार्टी त जवान हुन्छ नि ८०, ९०, १०० र २०० वर्षमा,” ओलीले भने, “कांग्रेसलाई के भएको हो? लौरो टेकेर पनि अडिन नसक्ने भइसक्यो क्या।”
आफ्नो खुट्टामा अडिन नसक्ने भएकाले गठबन्धन बनाइरहेको उनको आरोप थियो। “कांग्रेस आफ्नो खुट्टामा अडिनै नसक्ने, खुट्टै टेक्न नसक्ने भइसक्यो,” ओलीले भने, “अनि प्रचण्ड खोज्या छ, अर्को खोज्या छ। यति सारो त नहुनुपर्ने हो।”
गठबन्धनका नाममा कांग्रेसले लोकतन्त्रलाई गलत दिशमा लगिरहेको उनको आरोप थियो। “लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लगिरहेको छ, गलत नियतका मान्छेहरूको संगतले हो की आफ्नै नियत हो,” उनले भने, “प्रतिस्पर्धा तर्फ होइन, दुश्मनीतर्फ, लडाइँ–झगडातिर लान खोजिराखेको छ।” यसले लोकतन्त्र र देशलाई फाइदा नहुने उनको भनाइ थियो।
लोकतन्त्र बलियो बनाउने स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए। चुनावअघि भन्दा पनि चुनावपछि सरकार गठनका लागि गठबन्धन गर्न उपयुक्त हुने उनको तर्क थियो।