२५ प्रतिशत मत ल्याउन नसक्ने पार्टीलाई संसद्मा ल्याउनै हुँदैनः रसाइली

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले देशभरिबाट २५ प्रतिशत मत ल्याउन नसक्ने पार्टीलाई संसद्मा प्रतिनिधित्व गर्न दिन नहुने बताएका छन्।
प्रतिनिधि सभाको साउन २४ गतेको बैठकमा बोल्दै सांसद रसाइलीले २५ प्रतिशतभन्दा बढी ल्याउने दललाई मात्रै संसद्मा प्रतिनिधित्व गर्न दिनुपर्ने माग गरेका हुन्।
“हामीले अपनाएको निर्वाचन प्रणालीले स्थायित्व हुँदैन र स्थायित्व नभएपछि समृद्धि हुँदैन,” रसाइलीले भने, “पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं, २५ प्रतिशतभन्दा कम मत ल्याउने राजनीतिक दलले समानुपातिक प्रणालीमा प्रतिनिधित्व गर्नेछैन भन्ने व्यवस्था गरौं। त्यसो गर्दा दुई दलीय सिस्टम हुन्छ र कुनै न कुनै दलको बहुमत आउँछ, बहुमत आएपछि स्थायित्व हुन्छ र समृद्धि आउँछ।”
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३३.२४ र कांग्रेसले ३२.७७ प्रतिशत मत प्राप्त गरेका थिए। बाँकी कुनै पनि दलले १४ प्रतिशत मत ल्याउन सकेका थिएनन्।