माधव नेपाललाई ओलीको कटाक्ष- ‘करबटें बदलते रहे सारी रात हम, तुम्हारी कसम’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको कुनै गन्तव्य नभएको जिकिर गर्दै हिन्दी फिल्मको गीत सुनाएर कटाक्ष गरेका छन्।
शुक्रबार एमालेको उपत्यका विशेष प्रदेश कमिटीको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कटाक्ष गरेका हुन्। उनले सन् १९७४ को हिन्दी फिल्म आप की कसमको गीतलाई केही तलमाथि गर्दै भने, “माधव नेपालको जिन्दगी त छटपटीमै बित्छ। राति पनि उही करबटें बदलते रहे सारी रात हम, तुम्हारी कसम।”
एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी गठन गरेका हुन्। कुनै गन्तव्य नभएकाले भविष्य नभएको ओलीको भनाइ थियो। उनले भने, “माधव नेपालको छटपटी मात्रै छ, गन्तव्य-सन्तव्य केही छैन।”
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा रहेका अन्य दलका नेताको पनि कुनै गन्तव्य नभएको जिकिर गरे। “मोहनविक्रम सिंहको गन्तव्य के हो भन्दा प्यूठान,” ओलीले भने, “शेरबहादुरको गन्तव्य के हो भन्दा म्याडम साहेबा। प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री।”
व्यक्तिगत स्वार्थका लागि हिंडेकाले गठबन्धनले देशका लागि केही नगर्ने उनको भनाइ थियो। “यस्ता यस्ता गन्तव्य लिएर हिंडेका छन्। त्यसका लागि जे पनि गर्छन्,” ओलीले भने, “यो सरकारको पनि गन्तव्य छैन।”
देश विकासका लागि एमालेको सरकार आवश्यक भएको ओलीको दाबी थियो। “अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन। हार्नु हुँदैन,” कार्यकर्तालाई चुनावी तयारीमा जुट्न निर्देशन दिंदै ओलीले भने, “हारे पनि एमालेका लागि केही छैन, प्रतिपक्षमा बसेर जनताको आवाज उठाउँछ। तर, एमालेले हार्दा देश हार्छ, देशलाई हार्न दिनु हुँदैन।”
उनले संविधानमा केही त्रुटि भएकाले सच्याउनुपर्ने बताए। त्यसका लागि एमालेलाई दुई तिहाइ बहुमत दिनुपर्ने ओलीको भनाइ थियो।