जुलाईमा टाटाका ४७ हजार ५०५ वटा गाडी बिक्री
टाटा मोटर्सले जुलाई महीनामा ४७ हजार ५०५ वटा गाडी बिक्री गरेको छ। यो सङ्ख्या यस वर्षकै सबैभन्दा उच्च हो।
गत वर्षको सोही अवधिमा ३० हजार १८४ वटा गाडी बिक्री भएको थियो। गएको महीना पाँच हजार ४३३ वटा टाटा टिगोर (कम्प्याक्ट सेडान) बिक्री भएका थिए। यो मासिक बिक्री सङ्ख्या सन् २०१७ को मार्चमा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो।
सन् २०२० को शुरूमा नेक्सन, टियागो र टिगोरको संरचनामा परिमार्जन भएपछि यी तीन वटै गाडीको बिक्री बढेको छ। गत वर्षको जुलाईको तुलनामा यस वर्षको सोही महीनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ। यस गाडीले टाटा ब्रान्डको कुल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ।
सन् २०२१ को अन्तिममा बजारमा आएको पन्च माइक्रो एसयूभीको बिक्री दर पनि गत महीना सबैभन्दा उच्च रहेको छ। गत महीना ११ हजार सात वटा पन्च बिक्री भएका थिए। जसका कारण टाटा मोटर्सले भारतीय चारपाङ्ग्रे बजारको मासिक बिक्री परिमाणमा नयाँ रेकर्ड कायम गर्न सफल भएको कम्पनीको दाबी छ।
नेक्सन ईभी र टिगोर ईभीको गत महीना कुल बिक्री सङ्ख्या चार हजार २२ रहेको छ। यो सङ्ख्या कम्पनीको अहिलेसम्मकै विद्युतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो।