पूर्व मन्त्री राईले किन छाडे जसपा?
जनता समाजवादी पार्टी (जसपा) विभाजन भए लगत्तै पूर्व मन्त्री हेमराज राईले पार्टी छाडेका छन्।
जसपा केन्द्रीय कार्यकारिणी सदस्य राईले साउन ९ गते संघीय परिषद् अध्यक्ष अशोक राईलाई राजीनामा पत्र बुझाएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेरै पार्टी छाडेको राईले जानकारी दिए।
अध्यक्ष यादवले पार्टी नछाड्नुस् भन्नुभएन भन्ने प्रश्नमा राईले संक्षिप्त जवाफ दिए, “भन्नुभएन।”
जसपा किन छाड्नु भयो? “नीति, विचार र संगठन सञ्चालनमा कुरा नमिलेपछि पार्टी छोडेको हुँ,” राईले भने।
जसपाका अन्य नेताहरू पनि पार्टी छोड्ने तयारीमा रहेको उनको भनाइ छ। उनी २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए।
नेकपा (एमाले)मा रहेर लामो समय राजनीति गरेका उनी अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए। राई फेरि एमाले प्रवेशको तयारीमा रहेका छन्। यद्यपि, यो विषयमा ठोस निर्णय भइनसकेको उनी बताउँछन्।
राईको चित्त दुखाएको त्यो निर्वाचन
२०७८ माघ १२ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर चुनाव लडेका थिए।
गठबन्धनबाट उम्मेदवारी दिएका १९ मध्ये १८ उम्मेदवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए। गठबन्धनबाट पराजित एक मात्र उम्मेदवार थिए, हेमराज राई। प्रदेश १ बाट अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहबाट उम्मेदवारी दिएका राईलाई एमालेका सोनाम ग्याल्जेन शेर्पाले पराजित गरे।
त्यस्तै, गठबन्धनबाट उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी जयन्ती राई पनि विजयी भइन्।
आफ्नै पार्टीबाट अन्तर्घात हुँदा पराजित हुनुपरेको राई निकट नेताहरू बताउँछन्। प्रदेश १ मा जसपाको मतभार २१६ छ। यो निर्वाचन परिणामपछि राई पार्टीमा निष्क्रिय हुँदै गएको जसपाका एक कार्यकारिणी सदस्यले बताए।