मौद्रिक नीति आज अपराह्न सार्वजनिक हुँदै
नेपाल राष्ट्र ब्यांकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। अपराह्न ४ बजे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र ब्यांकले जनाएको छ।
बाह्य क्षेत्र र वित्तीय स्थायित्व तथा मूल्यवृद्धिलाई सीमामा राख्ने कसिलो मौद्रिक नीति आउने आकलन गरिएको छ। गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै पटक पटक कर्जा नियन्त्रण गर्ने मौद्रिक नीति आउने सङ्केत गरेका छन्।
गभर्नर अधिकारीले दुई वर्ष अगाडिको आफ्नो पहिलो मौद्रिक नीति मार्फत व्यापक कर्जा विस्तारलाई सघाउ पुग्ने नीति अघि सारेका थिए। तर, त्यसले अर्थतन्त्रमा लाभभन्दा हानि धेरै भएको आलोचना भएको छ। केन्द्रीय ब्यांकले यो वर्षको मौद्रिक नीति मार्फत पुनर्कर्जा, सहुलियत कर्जा लगायतका कर्जामा कडाइ गर्ने सम्भावना छ।
त्यसै गरी, ब्याजका नीतिगत दर बढाउने, ब्यांक तथा वित्तीय संस्थाको ऋणको विस्तारलाई खुम्च्याउन विभिन्न औजार प्रयोग गर्ने आकलन गरिएको छ।