नेपाली मुद्रा सर्वाधिक कमजोर, एक डलर साट्न रु.१२८ तिर्नुपर्ने
नेपाली मुद्रा अमेरिकी डलरसँगको तुलनामा इतिहासमै कमजोर अवस्थामा पुगेको छ। नेपाल राष्ट्र ब्यांकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार, एक डलर सटही गर्न १२८ रुपैयाँ २६ पैसा तिर्नुपर्छ।
भारतीय रुपैयाँ (भारु) अमेरिकी डलरसँग लगातार अवमूल्यन हुँदै गएको परिणाम नेपाली मुद्रामा पनि देखिएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर (रु.१ भारु बराबर १.६ नेरु) छ। जस कारण, भारु अवमूल्यन हुने बित्तिकै नेरुको मूल्य पनि घट्छ।
पछिल्ला महीनाहरूमा भारु डलरको तुलनामा लगातार अवमूल्यन भइरहेको छ। १ डलर किन्न लगभग ८० भारु तिर्नुपर्ने भएको छ। भारतीय रिजर्ब ब्यांकले भारुको अवमूल्यन रोक्न अन्तरदेशीय व्यापारमा भारुको प्रयोग सहित विभिन्न प्रयास गरे पनि सफल हुन सकेको छैन।
अमेरिकी डलरसँग नेपाली मुद्रा थप अवमूल्यन हुँदै जाँदा विदेशबाट आयात गरिने वस्तु र सेवा थप महँगो हुन जान्छ। नेपालमा उपभोग्य वस्तुदेखि औद्योगिक वस्तुसम्म अधिकांश विदेशबाट आयात हुन्छ। डलर महँगो हुँदा उति नै परिमाणमा आयात गर्न पनि बढी रकम चुक्ता गर्नुपर्छ। जसले गर्दा, उपभोक्ता मूल्यवृद्धि थप चर्काउँछ।
नेपाल राष्ट्र ब्यांकका अनुसार, गत जेठमा उपभोक्ता मूल्यवृद्धि ८.५६ प्रतिशत पुगिसकेको छ। यो असारमा थप बढ्ने आकलन छ। यद्यपि, डलरको भाउ बढ्दा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स पाउने घरपरिवारलाई भने लाभ हुन्छ। उनीहरूले बढी नेरु पाउन सक्छन्। तर, मूल्यवृद्धिका कारण उनीहरूको खर्च भने बढ्छ।