निर्वाचन आयोगमा ५८१ ल्यापटप प्रयोगविहीन, प्रिन्टर किन्ने पदाधिकारीलाई कारबाहीको सिफारिश
सरकारको लेखा परीक्षक निकाय महालेखा परीक्षक कार्यालयले निर्वाचन आयोगमा सरकारी कोषबाट किनिएका सामग्री प्रयोगविहीन भएर थन्किएको जनाएको छ।
महालेखा परीक्षकको ५९औं प्रतिवेदनले निर्वाचन आयोगमा रहेका ६५९ थान ‘कोर आई–थ्री’ ल्यापटपमध्ये ५८१ थान प्रयोगविहीन अवस्थामा रहेको उल्लेख गरेको छ। यी ल्यापटपको खरीद मूल्य समेत खुलेको छैन।
त्यस्तै, आयोगले २०७४ सालमा किनेका २१ करोड ८३ लाख मूल्यका प्रिन्टर अहिलेसम्म प्रयोगमा नआएको उल्लेख गरेको छ।
आयोगले २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा १० करोड ५५ लाख मूल्यका हाइस्पिड डिजिटल कलर प्रिन्टर र ११ करोड २८ लाखमा किनिएको छाड स्प्रिङ डिजिटल मोनोक्रोम किने पनि अहिलेसम्म प्रयोगमा आएका छैनन्।
यी मेसिन र उपकरण प्रयोगमा ल्याउन र अध्ययन बेगर उपकरण किन्ने कार्य भविष्यमा दोहरिन नदिन सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न परीक्षकले सुझाएको छ। “भविष्यमा यस्ता कार्य नदोहरिने गरी सम्बन्धित पदाधिकारीलाई आवश्यक कारबाही हुनुपर्छ,” महालेखाले भनेको छ।