मूल्यवृद्धि दोब्बर, दैनिकी झन् कष्टकर हुने
चर्को महँगीले आम नागरिकको दैनिक थप खल्बल्याउने देखिएको छ। गत वर्षको तुलनामा मूल्यवृद्धि दोब्बरले बढेको छ।
नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ। यो गत वर्षको यही अवधिका तुलनामा दोब्बरभन्दा बढी हो। गत वर्षको जेठमा उपभोक्ता मूल्यवृद्धि ४.१९ प्रतिशत थियो।
पछिल्ला महीनामा लगातार मूल्यवृद्धिको पारो उकालो चढ्दै गएको छ। वैशाखमा मूल्यवृद्धि ७.८७ प्रतिशत थियो। झण्डै ६ वर्ष सामान्य खालको मूल्यवृद्धि खेपेको देश फेरि उच्च मूल्यवृद्धिको चक्रमा पर्न लागेको तथ्यांकले देखाएको छ।
खाद्य र गैर खाद्य दुवै समूहमा उच्च मूल्यवृद्धि भएको छ। जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.४३ प्रतिशत पुगेको छ। गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ९.४४ प्रतिशत पुगेको छ।
रसिया–युक्रेन युद्धले संसारभरि मूल्यवृद्धि उकालो लागेको छ। पेट्रोलियम पदार्थको भाउ बढ्दा अधिकांश वस्तुको लागत बढेर मूल्यवृद्धिलाई उकालो चढ्न सघाएको छ।
राष्ट्र ब्यांकका अनुसार, घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि सबैभन्दा धेरै छ। घ्यू तथा तेल २२.६० प्रतिशत, दूध र अण्डा ११.२२ प्रतिशत, मदिरा ९.६८ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ९.१३ प्रतिशतले बढेको छ।
यो अवधिमा यातायातको मूल्य २५.७९ प्रतिशत, शिक्षा ११.६४ प्रतिशत, फर्निसिङ र घरायसी उपकरणको मूल्य ८.३० प्रतिशतले बढेको छ।
हिमाल र तराईको भन्दा पहाडमा सबैभन्दा धेरै ९.२८ प्रतिशतले बजार भाउ बढेको छ।
जेठ महीनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १४.७७ प्रतिशत पुगेको छ। थोक मूल्यवृद्धि उच्च हुँदा त्यो बिस्तारै उपभोक्ता मूल्यवृद्धिका रुपमा आम नागरिकलाई मंहगीको रुपमा बदलिन्छ।