पैदल हिंड्न आह्वान गर्ने सहित यस्ता छन् निगमका १० प्रस्ताव

पेट्रोलियम पदार्थको खपत घटाउन छोटो दूरीमा पैदल हिंड्न आह्वान गर्ने सहित नेपाल आयल निगमले सरकारलाई १० प्रस्ताव पठाएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै घाटामा चलिरहेको निमगले सरकारसँग अनुदान माग गरेको थियो। अनुदान दिनुअघि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उपाय मागेको थियो।
निगमले पठाएको १० वटा प्रस्तावमा पेट्रोलियम पदार्थको वितरणमा कोटा प्रणाली लागू गर्नुपर्ने उल्लेख छ। यसका लागि एक पटकमा मोटरसाइकललाई बढीमा पाँच लिटर र कार तथा जीपलाई २० लिटरसम्म पेट्रोलियम पदार्थ वितरण गर्नुपर्ने प्रस्ताव गरेको हो।
यससँगै सरकारी तथा निजी सवारी साधनलाई जोर-बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने पनि प्रस्ताव गरेको छ। शनिबार देशका प्रमुख शहरमा गाडीरहित सार्वजनिक बिदा दिनुपर्ने जनाएको छ।
निगमले सरकारलाई पठाएका १० प्रस्तावः
१) सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा निजी सवारी साधन जोर-बिजोर प्रणालीमा सञ्चालन गर्ने।
२) देशका प्रमुख शहरहरूमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने।
३) खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने।
४) विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख शहरहरू र राष्ट्रिय राजमार्गमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्ने तथा सार्वजनिक, निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङ स्थल तोकिदिने।
५) पेट्रोल पम्पहरूले मोटरसाइकललाई एक पटकमा ५ (पाँच) लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० (बीस) लिटर मात्र इन्धन बिक्री गर्ने।
६) छोटो दूरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने।
७) ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने।
८) मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सीट अनुरूप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने।
९) पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायत अन्य उपकरणहरूको आयात बन्द गर्ने।
१०) ठूला उद्योग, परियोजना, होटेल आदिलाई डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने।