फेरि प्रधानमन्त्री हुने सङ्केत गर्दै दाहालले भने- पहिलो चोटि त झिलिमिलीमै गयो
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिलिमै नौ महीना सकिएको बताउँदै अर्को पटक केही काम गरेर देखाउने जिकिर गरेका छन्।
शनिबार नेपाल पर्वतारोहण संघका नवनिर्वाचित पदाधिकारीको पदभार हस्तान्तरण समारोहमा बोल्ने केही वक्ताले उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए। त्यसलाई सकारात्मक रूपमा लिएको बताउँदै दाहालले भने, “तपाईंहरूको आशीर्वाद हो भने अर्को पटक नेतृत्व गर्ने मौका पाउँदा देशमा देखा परेका तमाम विसङ्गतिमाथि प्रहार गर्दै नयाँ युगतिर देशलाई लैजानुपर्छ भन्ने सपना मेरो मनभित्र छ।”
उनले त्यसका लागि यसअघिका आफ्ना कार्यकालबाट केही सिकेको बताए। “पहिलो चोटि प्रधानमन्त्री हुँदा त झिलिमिली झिलिमिलीमै गयो। यो सपना हो कि विपना भनेर विचार गर्दागर्दै नौ महीना बितिहाल्यो,” दाहालले भने, “त्यसपछि एउटा नयाँ परिस्थिति बन्यो।”
२०६४ सालमा प्रधानमन्त्री हुँदा दाहालले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई बर्खास्त गरेका थिए। तर, राष्ट्रपतिले थमौती गरेपछि दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।
दोस्रो पटक २०७४ सालमा प्रधानमन्त्री हुँदा भने केही सुधार गरेको उनको भनाइ थियो। “दोस्रो पटक प्रधानमन्त्री हुँदा साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ,” दाहालले भने, “मधेशलाई सँगै लिएर चुनाव गर्नु सानो कुरा थिएन। २५ वर्षपछि आर्थिक वृद्धिदर साढे ७ प्रतिशत पुर्याउनु सानो कुरा थिएन।”
त्यसपछि पनि राजनीतिक स्थायित्वका लागि वामपन्थी एकताको नयाँ प्रयोग गरेको उनको भनाइ थियो। तर, प्रयास गर्दा पनि एकता लामो समय टिक्न नसकेको उनले बताए।