आगामी चुनावबाट दोस्रो दल बन्छौं: दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेशको चुनावबाट दोस्रो दल हुने दाबी गरेका छन्।
बिहीबार ललितपुरमा आयोजित माओवादीका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिंदै दाहालले स्थानीय तहबाटै दोस्रो दल बन्ने मौका गुमेको बताए। “स्थानीय तह निर्वाचनमै वामपन्थीतर्फ पहिलो दल बन्ने सम्भावना थियो,” दाहालले भने, “अघिल्लो निर्वाचनमा जितेका ५० सीट जोगाउने सकेको भए हामी पहिलो हुन्थ्यौं, एमाले दोस्रोमा झर्थ्यो।”
अब आगामी संघ र प्रदेशको निर्वाचनबाट वामपन्थीतर्फ पहिलो दल बन्ने सम्भावना रहेको जिकिर गरे।
“संघ र प्रदेशको चुनावबाट देशको दोस्रो, वामपन्थीको पहिलो दल बन्छौं,” दाहालले भने, “वामपन्थीको पहिलो दल बन्यौं भने देशको राजनीतिको बागडोर हाम्रो हातमा आउँछ। संघ र प्रदेश सरकारमा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना हुन्छ।”
यसका लागि एक पटक फेरि जोडबल लगाउनुपर्ने उनको भनाइ थियो। उनले माओवादीका नेता तथा कार्यकर्तालाई एक पटक फेरि गाउँ गाउँ पुग्न, जनताका घर घरमा पुग्न निर्देशन दिए।