धरौटीमा छुटेका र्यापर लाहुरे प्रहरीसँगै लागूऔषध विरुद्धको अभियानमा
लागूऔषध सम्बन्धी मुद्दामा धरौटीमा छुटेका र्यापर आशिष राना मगर ‘लाहुरे’ प्रहरीसँगै लागूऔषध विरुद्धको अभियानमा संलग्न हुने भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीले असार ६ देखि १२ गतेसम्म सञ्चालन गर्ने लागूऔषध विरुद्धको अभियानमा लाहुरेलाई ‘आइकन’ का रूपमा प्रस्तुत गर्ने भएको छ। “यसअघि पनि लागूऔषध विरुद्ध धेरै कार्यक्रम सञ्चालन गरेका छौं। अहिले फरक तरीकाले सप्ताव्यापी कार्यक्रम गर्दै छौं,” जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमश थापाले भने। युवामाझ निकै लोकप्रिय लाहुरे लागूऔषध विरुद्ध अभियानमा प्रभाव पार्न सक्ने व्यक्ति भएकाले समावेश गरिएको एसपी थापाको भनाइ छ।
ब्राउन सुगर प्रयोग गरेको अभियोगमा पक्राउ परेका लाहुरे गत फागुन १० गते ५० हजार धरौटीमा छुटेका थिए। उनीसँगै पक्राउ परेका अन्य तीन जना भने पुर्पक्षका लागि जेलमा छन्। त्यति वेला उनी रियालिटी शोमा निर्णायकको भूमिकामा थिए।
अब उनी प्रहरीले सप्ताहव्यापी रूपमा सञ्चालन गर्ने लागूऔषध विरुद्धको अभियानमा अभियन्ताका रूपमा सहभागी हुनेछन्। यो अभियानमा जिल्ला प्रहरी कार्यालयलाई लागूऔषध दुर्व्यसनीलाई पुनः सामाजिकीकरण गरिरहेको संस्था रिकभरिङ नेपालले साथ दिनेछ।
शुक्रबार कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै लाहुरेले आफू हिरासतमै हुँदा लागूऔषध विरुद्धको अभियान सञ्चालन गर्ने सोचाइ बनाएको बताए।
“मलाई माया गरिदिनुहुने धेरै हुनुहुन्छ। म नै यो कार्यक्रममा सहभागी हुँदा प्रभावकारी हुन्छ जस्तो लाग्यो,” उनले भने, “बढ्दो लागूऔषध प्रयोगलाई राक्नुपर्छ। युवालाई दुर्व्यसनभन्दा पनि उत्पादनमूलक काममा लगाउनुपर्छ भनेर यो कार्यक्रममा सहभागी हुँदै छु।”
आफूले प्रत्येक पटक लागूपदार्थ लिंदा अब त छोड्छु भन्ने गरेको बताए। तर, पटक पटकको प्रयास असफल भएको उनको भनाइ छ।
“लागूपदार्थ सेवनले आफू मात्र होइन, परिवार, समाज साथीभाइ सबैलाई पीडा दिंदो रहेछ,” लाहुरेले भने, “लागूपदार्थको दुर्व्यसनमा परेकाले थुप्रै कुरा गुमाउनुपर्दो रहेछ। त्यसैले यसबाट उम्कन सबै मिलेर दुर्व्यसनमा परेका व्यक्तिलाई सहयोग गर्नुपर्छ।”