बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैन: अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा राष्ट्रघात हुने कुनै काम नभएको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताए।
“अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, न गद्दारी भएको छ। एउटा प्रक्रियामा गएर नै बजेट निर्माण गरिएको हो,” अर्थमन्त्री शर्माले भने, “करको दरलाई लिएर जुन राजनीतिक मुद्दा बनाउन खोजिएको छ। यो राजनीतिक कुरा नभई अराजनीतिक विषय हो।”
उनले बजेटको गोपनीयता कायम राखिएको बताए। “कुनै गोपनीयता भङ्ग भएको छैन। सम्बन्धित तहका कर्मचारीले नै बजेट बनाउने हो। म जवाफदेही छु। जिम्मेवार छु,” उनले भने, “बजेटमा राष्ट्रघात होइन, स्थिरतातर्फ लैजाने गरी मार्गदर्शन गरिएको छ।”
यससँगै अर्थमन्त्री शर्माले कोरोना बीमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको बताए।