ग्लोबल आइएमई र ब्यांक अफ काठमाण्डूबीच मर्जर सम्झौता
ग्लोबल आइएमई ब्यांक र ब्यांक अफ काठमाण्डू एकआपसमा गाभिने भएका छन्।
दुई ब्यांकबीच बिहीबार एकआपसमा गाभिन प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा ब्यांक अफ काठमाण्डूका तर्फबाट अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
मर्जरपछि बन्ने नयाँ ब्यांकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने जनाइएको छ। सञ्चालक समितिमा ग्लोबल आइएमई ब्यांकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित पाँच जना र ब्यांक अफ काठमाण्डूका तर्फबाट दुई जना रहने सहमति भएको छ। त्यसै गरी ब्यांकको प्रमुख कार्यकारी अधिकृतका रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ। बज्राचार्य ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत हुन्।
मर्जरपश्चात् ब्यांकको कुल पूँजी रु.५२ अर्ब २९ करोड बराबर हुनेछ। दुई ब्यांकका ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखारहित ब्यांकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, विदेशस्थित तीन सम्पर्क कार्यालय छन्।
शेयर कारोबार रोक्का
नेपाल स्टक एक्सचेन्जले ग्लोबल आइएमई ब्यांक र ब्यांक अफ काठमाण्डूको शेयर कारोबार रोक्का गरेको छ।
दुई ब्यांकबीच बिहीबार मर्जर प्रक्रियामा सम्झौता भएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो। मर्जर प्रक्रिया नसकिएसम्म दुवै ब्यांकको शेयर कारोबार रोक्का हुनेछ।