बोक्सीको आरोपमा महिलालाई निर्वस्त्र बनाएर कुटपिट, दुई जना पक्राउ
बोक्सीको आरोप लगाएर महिलामाथि कुटपिट गर्ने दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
जलेश्वर नगरपालिका-६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए।
प्रहरी उपरीक्षक पङ्गेनीका अनुसार ठूलो धबौलीकी ५३ वर्षीया र ५४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका थिए। भुलन र सोमारी सहित १०-११ जनाले दुवै महिलाई शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गरेको पाइएको पङ्गेनीले बताए।
दुवै महिलाका छोराहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उनीहरूको उजुरीका आधारमा भुलन र सोमारीलाई पक्राउ गरिएको र अन्य स्थानीय बासिन्दाको खोजी भइरहेको एसपी पङ्गेनीले बताए।
प्रहरीका अनुसार घटनामा स्थानीय बासिन्दा तलेवर राम, भुलन राम, रामु राम, राकेश राम, रबि राम, बहुरीदेवी राम, सोमनदेवी राम, आरतीदेवी राम, पवनदेवी राम र सुटियादेवी राम संलग्न छन्। उनीहरूले बोक्सीको आरोप लगाएर निर्वस्त्र पारी हात, मुक्का, लातीले मरनासन्न हुने गरी कुटपिट गरेका थिए।
कुटपिटबाट दुवै महिला घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ।