सहमतिसँगै १५३ ट्रक फोहोर बञ्चरेडाँडामा विसर्जन
काठमाडौं महानगरका मेयर बालेन्द्र साह लगायत जनप्रतिनिधिले आज बिहान सहमति गरेसँगै निर्वाध रुपमा बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न थालिएको छ।
शहीर विकास मन्त्री रामकुमारी झाँक्रीको पहलमा शुक्रबार बिहान काठमाडौं महागनर र ककनी गाउँपालिका तथा धुनवेशी नगरपालिका सम्बन्धित क्षेत्रका जनप्रतिनिधिबीच सहमति भएको थियो।
महानगरका मेयर साह तथा उपमेयर सुनिता डंगोलले ककनी गाउँपालिका वडा नं. १ र २ का वडाध्यक्षद्वय पदमबहादुर श्रेष्ठ बलामी र तिलकबहादुर लामा तथा धुनवेशी नगरपालिका वडा नंं १ र ३ का वडाध्यक्षद्वय मानबहादुर तामाङ र प्रकाश हमालसँग सहमति गरेका थिए।
दुवै पक्षबीच सहमति भएसँगै बन्चरेडाँडामा फोहोर विसर्जन गर्न थालिएको महानगरका साइट इन्जिनियर सरकारदीप श्रेष्ठले बताए। शुक्रबार साँझसम्म १५३ ट्रक फोहोर काठमाडौंबाट लगेर बन्चरेडाँडामा विसर्जन गरिएको छ।
“आज सौहार्द वातावरणमा फोहोर व्यवस्थापन भएको छ। स्थानीय बासिन्दाबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन,” इन्जिनियर श्रेष्ठले भने। शनिबारदेखि तालिकाबद्ध र पूर्ववत् काम हुने उनले बताए।
लामो समयदेखि विवाद उत्पन्न हुँदा काठमाडौं महागनरबाट फोहोर उठ्न सकेको थिएन। महानगरका विभिन्न स्थानमा जम्मा भएको फोहोर उठाउन केही दिन लाग्ने जनाइएको छ।