‘जसपामा पनि ६-६ महीनामा मन्त्री फेर्ने सहमति भएको छ’
नेकपा (एकीकृत समाजवादी) मा मन्त्री परिवर्तनको हल्ला चलिरहेका वेला जनता समाजवादी पार्टी (जसपा) मा पनि ६-६ महीनामा मन्त्री फेरबदलको सहमति भएको नेताहरूले बताएका छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवकै प्रस्तावमा केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलले ६ महीनापछि मन्त्री फेर्ने सहमति गरेको जसपा केन्द्रीय कार्यकारणी समिति सदस्य प्रदीप यादवले बताए। नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार सङ्क्षिप्त प्रक्रिया दिंदै यसका लागि आफूहरूले दबाब दिएको र अध्यक्ष यादवले बैठक बोलाउने आश्वासन दिएको उनको भनाइ छ।
“माननीय उपेन्द्र यादवजीकै प्रस्तावमा ६ महीनामा नयाँ मन्त्री पठाउने भन्ने संसदीय दल र कार्यकारिणी समितिमा सहमति भएको हो,” यादवले भने, “त्यस कारण जसपाबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाएर नयाँ टीम पठाउनुपर्दछ।”
जसपाबाट राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, महिन्द्रराय यादव कृषि तथा पशुपंक्षी विकास र रामसहायप्रसाद यादव वन तथा वातावरण मन्त्री छन्।