६-६ महीनामा मन्त्री फेर्ने शुरूकै सहमति हो: खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीमा ६-६ महीनामा मन्त्री फेर्ने शुरूकै निर्णय भएको बताएका छन्।
एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने चर्चा भइरहेका वेला खनालले यस्तो प्रतिक्रिया दिएका हुन्।
“६ महीनासम्म एउटा टीमलाई दिने र त्यसपछि अर्को टीम पठाउने भन्ने हाम्रो शुरूकै सहमति हो,” पूर्व प्रधानमन्त्री समेत रहेका खनालले सोमबार संसद् भवनमा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रक्रिया दिंदै भने, “कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने निर्णय हाम्रो पार्टीले गर्ने कुरा हो, पार्टी कमिटीले गरेको निर्णय सबैले पालना गर्नुपर्दछ।”
एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
उनीहरूको ठाउँमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको सार्वजनिक भएको थियो। तर, सोमबार बसेको सत्तारूढ गठबन्धनको बैठकले तत्काललाई मन्त्री परिवर्तन नगर्ने सहमति गरेको छ।