तत्काल मन्त्री नफेर्ने गठबन्धनमा सहमति
सत्तारुढ पाँच दलीय गठबन्धनमा तत्काल मन्त्री नफेर्ने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकमा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव गरेको थियो। त्यसमा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरेका छन्।
एकीकृत समाजवादीका मन्त्रीहरूले पनि संसद्मा बजेटको विषयमा छलफल चलिरहेकाले सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै प्रधानमन्त्री देउवासँग गुनासो गरेका थिए। उनीहरूको गुनासोपछि प्रधानमन्त्री देउवा तत्कालका लागि मन्त्री परिवर्तन नगर्ने निर्णयमा पुगेको हुन्।
प्रधानमन्त्री देउवा मन्त्री फेरबदल नगर्ने निर्णयमा पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन्। आफूले अन्यथा निर्णय नगरेको भन्दै अध्यक्ष नेपालले आफ्ना पार्टीका मन्त्रीहरूलाई काममा निरन्तरता दिन आग्रह गरेका थिए।
एकीकृत समाजवादीबाट पाँच जना मन्त्री सरकारमा सहभागी छन्। आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले चार जना मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ चार जना मन्त्री पठाउने निर्णय गरेको थियो।
सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी थिए।