धुलिखेलको मेयरमा पुनः व्याञ्जु
धुलिखेल नगरपालिकाको मेयरमा अशोककुमार व्याञ्जु श्रेष्ठ पुनः निर्वाचित भएका छन्।
नेकपा (एमाले) का उम्मेदवार व्याञ्जु आठ हजार ३५१ मत सहित मेयरमा निर्वाचित भएका हुन्। नेपाल नगरपालिका संघका निवर्तमान अध्यक्ष व्याञ्जुका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले सात हजार ४११ मत प्राप्त गरे।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का दयासागर श्रेष्ठ एक हजार ८१९ मत पाएर तेस्रो स्थानमा रहे।
राप्रपाका दामोदर हुमागाईंले ११९, स्वतन्त्र उम्मेदवार कृष्णमुरारी बडालले २६, नेपाल मजदूर किसान पार्टीका पुण्यशोभा श्रेष्ठले २५, नेपालका लागि नेपाली पार्टीका विष्णुप्रसाद सापकोटाले २०, मंगोल नेशनल अर्गनाइजेशनका सुकमान तामाङले १७, उन्नत लोकतन्त्र पार्टीका तारा केसीले आठ र सामाजिक एकता पार्टीका हेमकाजी श्रेष्ठले पाँच मत पाए।
त्यस्तै, उपमेयरमा कांग्रेसका निराजन जंगम निर्वाचित भएका छन्। उनले सात हजार ९३८ मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेकी लालतारा अधिकारीले सात हजार ७९१ मत पाइन्।