मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने
स्थानीय तहको निर्वाचनमा परिचय खुल्ने अन्य कागजपत्र लगेर पनि मतदान गर्न पाइने भएको छ।
निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गरी परिचय खुल्ने अन्य कागजपत्र लगेर पनि मतदान गर्न दिने व्यवस्था गरिएको जनाएको छ। मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, लालपुर्जा, राष्ट्रिय परिचयपत्र लगेर पनि मतदान गर्न पाइनेछ।
यसका लागि आयोगले मातहतका निर्वाचन अधिकृतलाई पनि सहजिकरण गर्न निर्देशन दिएको छ। आयोगले भनेको छ, ‘मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयत्रप वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाई एकीन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ।’
आयोगले नयाँ मतदाता तथा मतदाता परिचयपत्र हराएका मतदातालाई नयाँ परिचयपत्र वितरण गरिरहेको छ। बुधबार देशभरका मतदानस्थलमा परिचयपत्र वितरण गरिएको छ। बिहीबार पनि मतदानस्थलमा परिचयपत्र वितरण गरिने आयोगले जनाएको छ।