अर्थतन्त्रमा एक तिहाइभन्दा बढी हिस्सा बागमतीको, थोरै कर्णालीको
चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु.४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएको छ।
यो वर्ष पनि नेपालको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहेको आँकडा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ। विभागका अनुसार, कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान ३६.९ प्रतिशत हुनेछ। अर्थात्, कुल अर्थतन्त्रमा बागमती प्रदेशले रु.१७ खर्ब ९१ अर्बको योगदान गर्नेछ।
देशका अधिकांश आर्थिक क्रियाकलाप राजधानी काठमाडौं सहित बागमती प्रदेशमा रहेकाले यो प्रदेशको हिस्सा धेरै देखिएको हो।
सबैभन्दा कम हिस्सा भने कर्णाली प्रदेशको हुने आकलन छ। देशको कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत अर्थात् रु.एक खर्ब ९८ अर्ब मात्रै योगदान हुनेछ।
कुल गार्हस्थ्य उत्पादनमा मधेशले १३.२ प्रतिशत, प्रदेश १ ले १५.७ प्रतिशत, गण्डकीले ८.९ प्रतिशत, लुम्बिनीले १४.१ प्रतिशत र सुदूरपश्चिमले सात प्रतिशत योगदान गर्ने अनुमान छ।
कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आर्थिक वर्षमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५.८ प्रतिशत अनुमान गरिएकोमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ४.९ प्रतिशत रहने अनुमान गरिएको छ।