विश्व ब्यांकबाट १८ अर्ब ऋण लिने सम्झौतामा हस्ताक्षर
नेपालले वित्तीय क्षेत्रलाई सुदृढ बनाउन बहुपक्षीय ऋणदाता विश्व ब्यांकबाट १५ करोड अमेरिकी डलर (करीब रु.१८ अर्ब) ऋण लिने भएको छ। यस सम्बन्धी सम्झौतापत्रमा बुधबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ।
वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र विश्व ब्यांकबीच ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋणमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा अर्थ सचिव मधु मरासिनी र विश्व ब्यांकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व ब्यांकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे।
‘वृद्धिका लागि वित्त’ आयोजनालाई विश्व ब्यांकको कार्यकारी निर्देशक बोर्डले गत चैत १० गते अनुमोदन गरेको थियो। यो ऋण सहयोगले पूँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरू खोल्न र नवीनतम वित्तीय सेवालाई प्रवर्द्धन गर्न मद्दत गर्ने विश्व ब्यांकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
यसले बाह्य व्यावसायिक उधारोमा पहुँच, वित्तीय डिजिटलाइजेशना र महिलाको लागि वित्तीय साक्षरताको माध्यमबाट अर्थतन्त्रको तरलता र समावेशिता बढाउने पहललाई पनि सघाउने बताइएको छ। निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने वृद्धिलाई सहयोग पुर्याउने गरी वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न पनि यस परियोजनाले मद्दत गर्ने जनाइएको छ।
यस आयोजनाले नेपालको हरित, उत्थानशील र समावेशी विकासलाई समर्थन गर्नुका साथै विभिन्न क्षेत्रमा जलवायु वित्तीय उत्थानशीलताका नीतिहरूलाई सघाउँदै नयाँ जलवायु अजेन्डाको पनि शुरूआत गर्ने ब्यांकले जनाएको छ।