भ्रातृ संस्थाको अधिवेशन रोक्न कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन तथा महाधिवेशन स्थगन गर्न निर्देशन दिएको छ।
सभापति शेरबहादुर देउवाले चुनावको समयमा अधिवेशन तथा महाधिवेशन स्थगन गर्न भ्रातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। स्थानीय तहको निर्वाचनमा खटिनुपर्ने भएकाले अहिले अधिवेशन तथा महाधिवेशन नगर्न निर्देशन दिइएको उनले बताए।
कांग्रेसका मुख्य सचिव पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पार्टी आबद्ध भ्रातृ संघ र शुभेच्छुक संंस्थाहरूको अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ-आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका यथाशीघ्र तय गर्ने गरी पूर्व निर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगित गर्नुहुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थाहरूलाई निर्देशानुसार जानकारी गराइएको छ।’