श्रमिकका हक संविधानमा लेखिए, भएन कार्यान्वयन
संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिन बाध्य छ।
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ को माग राख्दै अमेरिकाको सिकागो शहरका श्रमिकहरूले सडकमा ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ।
१३६ वर्षदेखि निरन्तर मनाइँदै आइएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ। अन्तरार्ष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ। नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।
विसं २००३ मा विराटनगरको ऐतिहासिक मजदूर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७५ वर्ष पार गरेको छ। नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। विसं २००७ को राणाशासन विरुद्ध, विसं २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२/६३ को गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ।
‘विविधतामा एकता’ नारा सहित नेपालका क्रियाशील एक दर्जन बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले श्रम बजार सुधारका लागि साझा मुद्दा उठाउँदै आएको छ। आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन्। संविधानमा श्रम–एजेन्डा समावेश गरिएका छन्। संविधानमा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ। संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ। श्रमिकको पारिश्रमिकको हकको सुनिश्चितता भएको छ।
यस्तै‚ युनियन खोल्न पाउने र सामूहिक सौदाबाजीको हकको सुनिश्चितता भएको छ। बालश्रम, बाधा श्रम निषेध भएको छ। विभिन्न जातीय, लिङ्गीय, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ। औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ।
श्रमिक अधिकारका विषय संविधानमा लिपिबद्ध भए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको जेटीयूसीसीको ठहर छ। संविधानले सामाजिक सुरक्षाको हक, रोजगारीको हकको प्रत्याभूति गरेको छ। तर‚ अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौं श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम पारिश्रमिकबाट वञ्चित छन्। संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएको भन्दै जेटीयूसीसीले मुलुकभित्रै रोजगारीको वातावरण बनाउन र विदेशिएका युवालाई स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
जेटीयूसीसीका अध्यक्ष प्रेमलकुमार खनाल नेपाली श्रमिक वर्गले उठाउँदै आएको नीति निर्माण लगायत राज्यको सम्पूर्ण संरचनामा १० प्रतिशत श्रमिक वर्गको प्रतिनिधित्व, अर्धन्यायिक अधिकार सहितको श्रम आयोग गठन, श्रमिक वर्गलाई कार्यस्थलबाट मताधिकारको व्यवस्था, श्रम निरीक्षण प्रणाली र श्रम कार्यालय विस्तार लगायत विषय तत्काल कार्यान्वयन गरिनुपर्ने बताउँछन्। -रासस