थवाङमा कांग्रेस, एमाले र नेत्रविक्रम चन्द नेतृत्वको गठबन्धन
स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ।
कांग्रेस, एमाले र चन्द नेतृत्वको नेकपाका स्वतन्त्र सहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धन बनेको हो। “हामीले थवाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्यौं,’’ कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने।
कांग्रेसबाट थवाङमा रमेश रोकाले उम्मेदवारी दिएका थिए। एमालेबाट उम्मेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता लिएका छन्।
नेकपाबाट अमित घर्ती, अजय घर्ती, दर्जित रोकामगर र महेश बुढामगरको उम्मेदवारी परेको थियो। अन्तिममा तीनै दलबीच दर्जितको नाममा सहमति भएको हो।
नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले भने, “दर्जितलाई हाम्रो समर्थन हो, उहाँको नाममा सबैको सहमति बनेको छ।’’
विसं २०७४ को स्थानीय तहको चुनावमा थवाङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले जितेको थियो। यस पटक माओवादी विरुद्ध कांग्रेस, एमाले र चन्द नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन्। रोल्पामा १० स्थानीय तहबाट उम्मेदवारी दिएकामध्ये ११४ जनाले फिर्ता लिएका छन्। (रासस)
थवाङ: किन सधैं विद्रोही?