रेणु नभई हुँदैन भन्ने अडान राखेका छैनौं: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनबीच भागबण्डा गर्दा भरतपुर महानगरपालिका नै चाहिन्छ भनेर अडान नराखेको बताएका छन्।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले स्थानीय चुनावको तयारीबारे जानकारी दिएका हुन्। उनले गठबन्धनमा रहेका दलहरूबीच सहमतिको कसरत भइरहेको बताए।
“स्थानीय चुनावमा ६ महानगरमध्ये तीन कांग्रेसलाई र अन्य तीनमा माओवादी, एकीकृत समाजवादी र जसपालाई दिने सहमतिका लागि प्रयास गरिरहेका छौं,” दाहालले भने, “उपमहानगरमा पनि यसै अनुसार सहमतिको प्रयास गरिरहेका छौं।”
६ महानगरमध्ये एउटा माओवादीले पाउने र त्यसमा सकभर भरतपुर महानगरपालिका पाउँदा सजिलो हुने कुरा राखेको उनले बताए। “भागबण्डा गर्दा ६ मध्ये एउटा त माओवादीको भागमा पर्ला,” दाहालले भने, “त्यो एउटा महानगर जुन दिए पनि हुन्छ भनेका छौं। भरतपुर नै नभई हुँदैन, रेणु नभई हुँदैन भन्ने अडान राखेका छैनौं।”
२०७४ को निर्वाचनमा माओवादीले जितेकाले भरतपुर नै माओवादीलाई दिनुपर्छ भन्ने अन्य दलका नेताले पनि भनिरहेको उनको भनाइ छ। “कांग्रेसका धेरै नेताहरू पनि माओवादीलाई भरतपुरै दिनुपर्छ भन्ने पक्षमा छन्। केहीलाई नलागेको पनि होला,” दाहालले भने।